गरिमा चौधरीको न्याय माग्दै काठमाडौँमा प्रदर्शन, बारामा पनि प्रदर्शन जारी

दियोपोस्ट संवाददाता

काठमाडौँ । बाराको जीतपुरसिमरा-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले माइतीघर मण्डलामा भेला भएर ‘गरिमालाई न्याय दे’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

गरिमाको न्यायका लागि बारामा पनि बुधबारदेखि प्रदर्शन जारी छ । प्रदर्शनका कारण वीरगञ्ज-पथलैया सडकखण्ड लगातार तेस्रो दिनसमेत अवरुद्ध बनेको छ । गरिमाका आमाबुबासहित आफन्त र अधिकारकर्मी सडकमा धर्ना बसेर न्यायको माग गरिरहेका छन् ।

यसैबीच, बिहीबार राति स्थानीय प्रशासनले स्थानीय व्यक्तिहरूसँग सहमति गरे पनि मृतकका परिवारले भने आफूहरूको अनुमतिबिना सहमति गरिएको भन्दै त्यसलाई स्वीकार नगर्ने बताएका छन् ।

गरिमाका बुबा मनोज चौधरीले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम घटनास्थलमा आएर पीडित परिवारसँग छलफल गर्नुपर्ने तथा नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन् ।

सिफारिस