
काठमाडौँ । काठमाडौँको शंखमुलस्थित एक होस्टलमा साथीहरूबीच भएको विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु भएको छ । शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
दाङको घोराही उपमहानगरपालिका-१७ घर भएका कालाथोकीलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन् । उनलाई अस्पताल पुर्याउँदा बोल्नसमेत नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
यादव र पटेल दुवै बाराको कलैया उपमहानगरपालिका-३ का बासिन्दा हुन् । उनीहरू केही समयदेखि उक्त होस्टलमा बस्दै आएका थिए ।
घटनापछि प्रहरीले यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । फरार रहेका पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानसमेत जारी रहेको प्रहरीले बताएको छ ।