कर्णाली नदीमा पाैडी खेल्ने क्रममा २ जना बालबालिका बेपत्ता

दियोपोस्ट संवाददाता

सुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालबालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा स्थानीय बृषबहादुर शाहीकी ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका १२ वर्षीय छोरा प्रशान्त रावल रहेका छन् । दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार बिहीबार साँझ खार्पुनाथ-१ तल्लोलालीका उनीहरू नदी किनारमा पौडी खेल्ने क्रममा कर्णाली नदीको तीव्र बहावमा बगेका हुन् ।

खार्पुनाथ गाउँपालिका-१ का वडाध्यक्ष जयबहादुर शाहीका अनुसार कर्णाली प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा परेकाले उनीहरू सुनाखाडा पुगेका थिए । पौडी खेल्ने क्रममा नदीको बहावले उनीहरूलाई बगाएको हो ।

घटनालगत्तै स्थानीयवासी र प्रहरीको टोलीले नदी किनार तथा आसपासका क्षेत्रमा खोजी थाले पनि कर्णालीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

 

सिफारिस