शंखमुल होस्टलमा साथीको हत्या आरोपमा फरार पटेल मकवानपुरबाट पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँको शंखमुलस्थित भ्याली ब्याइज होस्टलमा साथीको हत्या गरेको आरोपमा फरार रहेका प्रमित पटेल पक्राउ परेका छन् । उनलाई मकवानपुरको भैंसेबाट पक्राउ गरिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको समन्वयमा पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पटेललाई काठमाडौँ ल्याइँदै गरेको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका-१० शंखमुलस्थित उक्त होस्टलमा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय वसन्त कालाथोकीमाथि धारिलो हतियार प्रहार गरी कुटपिट गरिएको थियो । घटनामा होस्टलमै बस्ने बाराको कलैया उपमहानगरपालिका-३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेल संलग्न रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न यादवलाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पटेल भने घटनापछि फरार रहेका थिए ।

सिफारिस