विमानस्थलबाट बंगलादेशी नागरिक पक्राउ, शौच गर्दा भेटियो १५० ग्राम सुन

दियोपोस्ट संवाददाता

काठमाडौँ । पेटभित्र लुकाएर ल्याइएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार क्षेत्र पार गरी एराइभल एरियातर्फ जाँदै गर्दा प्रहरीले शंकाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार दुबईबाट फ्लाई दुबईको उडानमार्फत गत साउन ३१ गते बिहान काठमाडौँ आएका उनलाई सोधपुछका क्रममा करिब १५० ग्राम सुन लुकाएर ल्याएको स्वीकार गरेपछि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा एक्स-रे परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पेटभित्र शंकास्पद धातु देखिएपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अस्पतालमा भर्ना गरिएको थियो ।

पाँच दिनसम्म अस्पतालमा राखिएका ती व्यक्तिले शुक्रबार शौच गर्दा पेटबाट अन्दाजी १५० ग्राम तौलका सुनजस्तो देखिने पहेँलो रङका क्याप्सुल आकारका दुईवटा धातुका वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेको वस्तुसहित ति बंगलादेशी नागरिकलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार बरामद धातु सुन भए-नभएको सम्बन्धमा थप परीक्षण तथा अनुसन्धानपछि यकिन हुनेछ ।

सिफारिस