
काठमाडौँ । रोयल इन्फिल्डले नेपाली बजारमा क्लासिक ३५० को विशेष संस्करण ‘गोरखा एडिसन’ सार्वजनिक गरेको छ। गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यस मोटरसाइकललाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ।
गोरखा परम्परा र वीरताको सम्मानस्वरूप मोटरसाइकललाई ‘गोरखा ग्रीन’ रङमा ल्याइएको छ। यसमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को परिचित डिजाइनलाई कायम राख्दै गोरखा विरासत झल्काउने विशेष डिजाइन र फिचर थप गरिएको कम्पनीले जनाएको छ।
रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपाली राइडरमाझ लामो समयदेखि लोकप्रिय रहेको बताए । गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको गोरखा विरासतलाई सम्मान गर्न पाएको उनको भनाइ छ।

नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले पनि क्लासिक ३५० ले नेपाली मोटरसाइकल पारखीमाझ विशेष स्थान बनाइसकेको बताए। गोरखा एडिसनले नेपालको इतिहास र पहिचानलाई नयाँ ढंगले प्रस्तुत गर्ने उनको भनाइ छ।
क्लासिक ३५० गोरखा एडिसनमा क्लासिक सिरिजकै अपराइट राइडिङ पोस्चर, परिचित डिजाइन र जे–सिरिज इन्जिन दिइएको छ। सहज गियर सिफ्टका लागि असिस्ट एन्ड स्लिपर क्लच पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
गोरखा कलेक्सन पनि सार्वजनिक
मोटरसाइकलसँगै रोयल इन्फिल्डले ‘गोरखा कलेक्सन’ पनि सार्वजनिक गरेको छ । गोरखा विरासतबाट प्रेरित उक्त कलेक्सनमा राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेललगायत सामग्री समावेश छन् ।

कलेक्सनमा क्रस खुकुरी, परम्परागत नेपाली ढाका बुनाइ तथा नेपाली हस्तकलाबाट प्रेरित डिजाइन प्रयोग गरिएको छ । गोरखा एडिसन ग्रीन, रेजिमेन्टल क्रिमसन, ट्याक्टिकल ओलिभ ग्रीन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रङलाई कलेक्सनमा प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
रोयल इन्फिल्ड क्लासिक ३५० गोरखा एडिसन नेपालभरका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ । यसको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।