
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा काठमाडौँका विभिन्न खानेपानी उद्योगमा आकस्मिक बजार अनुगमन तथा निरीक्षण गरेको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम टोखा र जोरपाटी क्षेत्रका पानी उद्योगमा अनुगमन गरेको हो ।
विभागका अनुसार टोखा नगरपालिका-६ स्थित मणि खानेपानी सेवामा पानीमा कुहिरोजस्तो फोहोर देखिएको र किरा भेटिएको भन्ने गुनासो आएपछि अनुगमन गरिएको थियो । निरीक्षणका क्रममा उद्योगको सरसफाइ अवस्था सन्तोषजनक नरहेको पाइएको छ । कर्मचारीको व्यक्तिगत सरसफाइ भने सन्तोषजनक रहेको विभागले जनाएको छ ।
अनुगमनका क्रममा उद्योगमा टायल टुटेफुटेको अवस्थामा रहेको तथा पानीका जारसमेत टुटेफुटेका र कुच्चिएका भेटिएका थिए । विभागले त्यस्ता १२ वटा जार नष्ट गरेको छ ।
त्यसैगरी, उद्योगलाई नियमित रूपमा सरसफाइ गर्न निर्देशन दिँदै थप अनुसन्धानका लागि पानीको नमुना संकलन गरी प्रयोगशाला परीक्षणमा पठाइएको छ । टुटेको टायललगायत निरीक्षणका क्रममा देखिएका कैफियत सुधार गरी चार दिनभित्र प्रमाणसहित विभागमा उपस्थित हुन उद्योगलाई निर्देशन दिइएको छ ।
यस्तै, गोर्खा बेभेरेज प्रालि., जोरपाटी-४ मा पनि जारको पानीमा किरा देखिएको भन्ने गुनासोका आधारमा अनुगमन गरिएको विभागले जनाएको छ । निरीक्षणका क्रममा उद्योगको सरसफाइ अवस्था सामान्य र कर्मचारीको व्यक्तिगत सरसफाइ सन्तोषजनक रहेको पाइए पनि कीट नियन्त्रणको उचित व्यवस्था नभएको भेटिएको थियो ।
उद्योगमा टुटेफुटेका तथा कुच्चिएका जार प्रयोग भइरहेको र प्रशोधित पानी भर्ने स्थान खुला रहेको समेत अनुगमनका क्रममा पाइएको विभागले जनाएको छ ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न सम्बन्धित उद्योगलाई आवश्यक सुधार तथा निर्देशन दिएको जनाएको छ ।
