
काठमाडौँ । रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट एकै परिवारका आमा–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन् ।
प्रहरीका अनुसार आइतबार बिहान सानीभेरी गाउँपालिका-८, एकान्तकुनानजिक सिम्ली बजारतर्फ जाँदै गरेको भे १ ज १४४२ नम्बरको विद्युतीय गाडीले उनीहरूलाई ठक्कर दिँदा आमा-छोरी दुवैको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार स्वस्तिका आफ्ना श्रीमान्लाई भेटेर फर्कने क्रममा छोरीलाई शौचालय लैजान गाडीबाट ओर्लिएकी थिइन् । सोही क्रममा गाडीले उनीहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुवै जनाको शव जिल्ला अस्पतालमा राखिएको छ । प्रहरीले दुर्घटनामा संलग्न गाडी र चालक सानीभेरी गाउँपालिका-३, चौखे निवासी अमर विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।