
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरको पक्षमा विश्वासको मत दिन आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ ।
सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री थापा मगरले पेस गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न नेकपाले आफ्ना सांसदलाई निर्देशन दिएको हो ।
नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जारी गरेको पत्रमा प्रदेश सभाको १८औँ बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न दलका नेता शालिकराम जम्कट्टेलको निर्देशनअनुसार सांसदहरूलाई सूचित गरिएको उल्लेख छ ।
संविधानको धारा १८८ को उपधारा (४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापा मगरले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
नेकपा, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा एमालेका थापा मगरले भदौ ३ गते मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । त्यसपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गते उनलाई मुख्यमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका थिए ।
बागमती प्रदेश सभामा नेकपाका २६ जना प्रदेश सभा सदस्य रहेका छन् ।