
काठमाडौँ । नेपाल जन-प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्ने निर्णय गरेको छ।
संघले हेमबहादुर मल्ल सम्मान २०८१ बाट धुलिखेल अस्पतालको स्थापना तथा गुणस्तरीय स्वास्थ्य सेवा र संस्थागत विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका डा. रामकण्ठ माकजू श्रेष्ठलाई सम्मान गर्ने भएको छ।
त्यस्तै, हेमबहादुर मल्ल सम्मान २०८२ सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप रामेश्वरप्रसाद खनाललाई प्रदान गरिने संघले जनाएको छ।
नेपाल सरकारका पूर्वसचिव तथा संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिको सिफारिसका आधारमा सम्मानित व्यक्तित्व छनोट गरिएको हो।
वि.सं.२०६० देखि प्रदान हुँदै आएको उक्त सम्मान सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई दिइँदै आएको छ । सम्मानपत्रसहित दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिन्छ।
दुवै व्यक्तित्वलाई सोमबार आयोजित विशेष समारोहमा सम्मान अर्पण गरिने नेपाल जन-प्रशासन संघले जनाएको छ।