नाबालक आरोपीको बयान सामाजिक सञ्जालमा, प्रहरी अनुसन्धानको गोपनीयतामाथि प्रश्न

दियोपोस्ट संवाददाता

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे बयान दिइरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी अनुसन्धानको गोपनीयता र संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको छ ।

सोमबार सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा नाबालक आरोपीले प्रहरीसमक्ष घटनाबारे बयान दिइरहेको देखिन्छ । भिडियो प्रहरीकै उपस्थितिमा खिचिएको देखिन्छ । बयान दिइरहेका किशोरलाई कम्तीमा दुई जना प्रहरीले भिडियो खिचिरहेको दृश्यसमेत भिडियोमा देखिन्छ । त्यसपछि अनुसन्धानको क्रममा खिचिएको भनिएको भिडियो कसरी प्रहरीको नियन्त्रणबाट बाहिरिएर सामाजिक सञ्जालसम्म पुग्यो भन्ने प्रश्न उठेको हो ।

घटनाको अनुसन्धानका क्रममा प्रमाण संकलन, बयान तथा अन्य प्रक्रियालाई गोप्य र सुरक्षित राख्नु प्रहरीको दायित्व हो । विशेषगरी आरोपी नाबालक रहेको अवस्थामा उसको पहिचान, बयान तथा अनुसन्धानसँग सम्बन्धित संवेदनशील सामग्री सार्वजनिक हुनु थप गम्भीर विषय मानिन्छ । तर अनुसन्धानका लागि तयार गरिएको जस्तो देखिने भिडियो नै सार्वजनिक भएपछि प्रहरीको अभिलेख व्यवस्थापन, सूचना सुरक्षा र अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको छ ।

भिडियो सार्वजनिक भएपछि मधेस प्रदेश प्रहरी कार्यालयले त्यसबारे छानबिन सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार भिडियो कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा कानुनविपरीत भिडियो सार्वजनिक गरेको पुष्टि भए संलग्नमाथि कारबाही गरिने प्रहरीको भनाइ छ ।

तर, ‘भिडियो कसरी बाहिरियो’ भन्ने प्रश्नको छानबिन मात्रै पर्याप्त हुन्छ कि प्रहरीभित्रैबाट संवेदनशील अनुसन्धान सामग्री चुहिएको हो भन्ने विषयमा पनि स्पष्ट जवाफ दिनुपर्ने हो भन्ने प्रश्न उठेको छ । प्रहरी आफैले खिचेको देखिने भिडियो सामाजिक सञ्जालसम्म पुग्नु सामान्य प्राविधिक त्रुटि मात्र हो कि अनुसन्धान सामग्रीको सुरक्षामा गम्भीर लापरबाही, यसको जवाफ छानबिनबाटै खोजिनुपर्ने देखिन्छ ।

अर्कोतर्फ, बलात्कार र हत्याजस्तो संवेदनशील घटनामा आरोपीको बयानको भिडियो सार्वजनिक गरेर सामाजिक सञ्जालमा फैलाउनु आफैमा जिम्मेवार व्यवहार होइन । अनुसन्धान पूरा नहुँदै आरोपीको बयानलाई सार्वजनिक बहस र सामाजिक संजालको विषय बनाउँदा अनुसन्धान प्रभावित हुने, आरोपी तथा पीडित परिवारको गोपनीयता थप भंग हुने र न्यायिक प्रक्रियामाथि समेत असर पर्न सक्ने सरोकारवालाको भनाई छ ।

गरिमा साउन ३१ गतेदेखि बेपत्ता भएकी थिइन् । उनको शव भदौ ३ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-२ का १६ वर्षीय किशोर र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

गरिमाको हत्याले स्वाभाविक रूपमा समाजमा आक्रोश र न्यायको माग बढाएको छ । तर यही आक्रोशको बीच अनुसन्धानका क्रममा तयार भएको भिडियो सार्वजनिक हुनु अर्को गम्भीर प्रश्न बनेको छ-पीडितलाई न्याय दिलाउने अनुसन्धान प्रक्रियाकै संवेदनशील सामग्री सुरक्षित राख्न नसक्ने अवस्था हो भने प्रहरीको अनुसन्धान प्रणालीमाथि जनविश्वास कसरी कायम रहला?

अब प्रहरीले भिडियो बाहिरिनुको वास्तविक कारण, कसको पहुँचमा भिडियो थियो, कसले खिच्यो, कसरी बाहिरियो र सामाजिक सञ्जालमा कसरी पुग्यो भन्ने प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ। दोषी देखिए कारबाही गर्ने प्रतिबद्धतासँगै घटनाको अनुसन्धानलाई प्रभाव पार्न सक्ने यस्ता सामग्री भविष्यमा बाहिरिन नदिन प्रहरीभित्रको सूचना तथा प्रमाण व्यवस्थापन प्रणालीलाई समेत कठोर बनाउनुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित खबर

सिफारिस