आरोपी किशोरको बयान भिडियो सार्वजनिक गर्ने एक प्रहरी पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा पक्राउ परेका किशोरले बयान दिइरहेको भिडियो खिच्ने एक जना प्रहरी हवल्दारलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ।

नाबालक आरोपीले अनुसन्धानका क्रममा बयान दिइरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले भिडियो खिच्ने प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार बयानको भिडियो खिच्ने क्रममा घटनास्थलमा करिब पाँच जना प्रहरी उपस्थित रहेको देखिएको छ । भिडियो खिच्ने एक जना हवल्दारलाई नियन्त्रणमा लिइएको छ भने अन्य चार जना प्रहरीलाई समेत अनुसन्धानको घेरामा राखिएको प्रहरीले जनाएको छ।

१६ वर्षीय किशोरले घटनाबारे बयान दिइरहेको भिडियो फेसबुक, एक्स (ट्विटर), टिकटक र रेडिटलगायत सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रिया र संवेदनशील सामग्रीको गोपनीयतामाथि प्रश्न उठेको थियो ।

नाबालकसँग अनुसन्धानका क्रममा लिइएको बयानको भिडियो सार्वजनिक हुनु गम्भीर विषय भएकाले भिडियो कसरी बाहिरियो भन्नेबारे प्रहरीले छानबिन थालेको हो । प्रहरी आफैँले खिचेको देखिने भिडियो सामाजिक सञ्जालसम्म पुग्नु सामान्य प्राविधिक त्रुटि हो वा अनुसन्धान सामग्रीको सुरक्षामा भएको गम्भीर लापरबाही हो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

संवेदनशील प्रकृतिको घटनामा संलग्न नाबालकको बयान सार्वजनिक भएपछि अनुसन्धानको गोपनीयता र नाबालकको अधिकारको विषयसमेत उठेको छ। प्रहरीले भिडियो सार्वजनिक हुनुको कारण र त्यसमा संलग्न व्यक्तिबारे अनुसन्धानपछि थप तथ्य सार्वजनिक गर्ने जनाएको छ।