
उदयपुर । उदयपुरको बेलका नगरपालिका-५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा बेलका नगरपालिका-५ की करिब ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको हो ।
सोमबार बिहान पौने १० बजेतिर सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को. प्र. ०५-००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा अस्पताल धरान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक बेलका नगरपालिका-५ का करिब २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भए छन् । विराटनगर महानगरपालिका-१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको छ भने बेलका नगरपालिका-५ का १८ वर्षीय रोशन मगर पनि गम्भीर घाइते भएका छन् । उनीहरू तीनै जनाको धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले दुर्घटनामा संलग्न स्कुल बस र चालक बेलका नगरपालिका-५ का करिब ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।