न्युजिल्याण्डमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी

दियोपोस्ट संवाददाता

एजेन्सी । न्युजिल्याण्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन ल्याउने तयारी गरेको छ। छिमेकी अस्ट्रेलियालगायत अन्य देशहरूले अपनाएका कदमलाई पछ्याउँदै सरकारले यस्तो विधेयक पेस गर्ने तयारी गरेको हो।

प्रस्तावित कानुनअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर पुष्टि गर्नुपर्नेछ। यसका लागि अनुहारबाट उमेर अनुमान गर्ने प्रविधि वा डिजिटल आईडीजस्ता उपाय प्रयोग गर्न सकिनेछ।

नियम पालना नगर्ने कम्पनीलाई उनीहरूको विश्वव्यापी आम्दानीको १० प्रतिशतसम्म जरिबाना गर्न सकिने प्रस्ताव पनि गरिएको छ। साथै, सामाजिक सञ्जाल प्लेटफर्महरूले युवा प्रयोगकर्तालाई हुन सक्ने जोखिमको मूल्यांकन गरी त्यसलाई कम गर्न अपनाएका उपायबारे जानकारी दिनुपर्नेछ।

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सामाजिक सञ्जालका कारण बालबालिकामा पर्न सक्ने नकारात्मक असरलाई बेवास्ता गर्न नसकिने बताएका छन् । उनले मानसिक स्वास्थ्य, निद्रा र शिक्षामा सामाजिक सञ्जालको असरबारे चिन्ता व्यक्त गरेका छन्।

सरकारी तथ्यांकअनुसार १३ देखि १७ वर्ष उमेर समूहका तीनमध्ये एक जना बालबालिकाले दैनिक कम्तीमा पाँच घण्टा सामाजिक सञ्जालमा बिताउने गरेका छन्।

सम्बन्धित खबर

सिफारिस