
काठमाडौँ । भन्सार छली गरी विभिन्न मोबाइल, ल्यापटप तथा तिनका पार्टपुर्जासहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार चीनको ग्वाङडोङ निवासी २९ वर्षीय चेन जुसनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राहदानी नम्बर ईक्यू ३००२६२३ भएका जुसन चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका थिए।
प्रहरीका अनुसार बिलबिजक नभएका विभिन्न मोबाइल, ल्यापटप, मोबाइल तथा ल्यापटपका पार्टपुर्जा, ल्यापटपको डिस्प्ले कभरलगायतका सामग्री र सूर्तीजन्य पदार्थ (चुरोट) भन्सार छली गरी लुकाइछिपाइ ल्याइएको थियो।
ती सामग्रीसहित अन्तर्राष्ट्रिय आगमन भन्सार क्षेत्र पार गरेर बाहिर निस्कने क्रममा शंका लागेपछि उनलाई सोधपुछ तथा चेकजाँच गरिएको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न सामग्री फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
बरामद सामग्रीको अन्दाजी मूल्य ७२ लाख ५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद सामग्रीसहित जुसनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।
बरामद गरिएको सामग्रीहरूः-
१.ग्लास प्रोडक्ट्स ह्यान्डल विथ केयर, मेड इन चाइना लेखिएको डब्बाभित्र मोबाइलको डिस्प्ले पार्टपुर्जा २६५ थान।
२. ग्लास प्रोडक्ट्स ह्यान्डल विथ केयर, मेड इन चाइना लेखिएको डब्बाभित्र मोबाइलको अगाडि-पछाडिको कभर पार्टपुर्जा (हाउजिङ) २५७ थान।
३. आईफोन मोबाइल राख्ने खाली बाकस ९ वटा।
४. आईफोन १७ प्रो मोबाइल ७ वटा।
५. आईफोन १४ मोबाइल ५ वटा।
६. आईफोन १५ मोबाइल २ वटा।
७. आईफोन १५ प्रो म्याक्स र आईफोन १६ प्रो म्याक्स मोबाइल जम्मा २ वटा।
८. आईफोन मोबाइलको हाउजिङ ७ वटा।
९. आईफोन १५ प्रो मोबाइल २ वटा।
१०. आईफोन १७ प्रो म्याक्स, २५६ जीबी, युज्ड १ वटा।
११. आईफोन मोबाइलको ब्याट्री ९ थान।
१२. एचपी ल्यापटप ५ वटा।