कृष्ण पाउरोटीसहित तीन खाद्य व्यवसायमा विभागको छापा, म्याद गुज्रिएका सामग्रीदेखि कृत्रिम रंगसम्म

दियोपोस्ट संवाददाता

काठमाडौँ । खाद्य स्वच्छता तथा गुण नियन्त्रण विभागले काठमाडौँका विभिन्न खाद्य व्यवसायमा आकस्मिक अनुगमन गर्दै स्वच्छता तथा गुणस्तरसम्बन्धी कैफियत देखिएका व्यवसायलाई सुधार गर्न निर्देशन दिएको छ ।

विभागले प्राप्त गुनासोका आधारमा पानीपोखरीस्थित आईएफसीएच किचन, कमलपोखरीस्थित कृष्ण पाउरोटी एण्ड कन्फेक्सनरी तथा नागार्जुन क्षेत्रका दुई खाद्य व्यवसायमा अनुगमन गरेको हो ।

पानीपोखरीस्थित आईएफसीएच किचनमा ढुसी परेको डुनट बिक्री गरिएको गुनासो आएपछि विभागले निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा ढुसी परेको डुनट फेला नपरे पनि भान्साको सरसफाइ तथा फोहोरमैला व्यवस्थापन सन्तोषजनक नरहेको र कीट नियन्त्रणको व्यवस्था प्रभावकारी नभएको पाइएको विभागले जनाएको छ ।

डुनट फ्राई गर्न प्रयोग गरिएको तेलको टीपीएम ११.५ रहेको र मापदण्डअनुकूल भए पनि व्यवसायमा कृत्रिम खाद्य रंग प्रयोग भइरहेको भेटिएको विभागले जनाएको छ । अनुगमनका क्रममा १०० ग्रामका पाँच बट्टा कृत्रिम खाद्य रंग, उपभोग्य मिति समाप्त भएका २०० ग्रामका दुई प्याकेट सोयाचंक तथा लेबल विवरण नभएका ११ वटा क्रोसंट फेला परेको बताइएको छ ।

विभागले कृत्रिम खाद्य रंगका पाँच बट्टा, म्याद गुज्रिएका दुई प्याकेट सोयाचंक र लेबल नभएका ११ वटा क्रोसंट नष्ट गरेको छ । साथै, देखिएका कैफियत सुधार गरी सात दिनभित्र विभागमा उपस्थित हुन व्यवसायीलाई निर्देशन दिइएको छ ।

यसैगरी, कमलपोखरीस्थित कृष्ण पाउरोटी एण्ड कन्फेक्सनरीमा तयारी खाद्य पदार्थमा बाहिरी वस्तु भेटिएको गुनासोपछि अनुगमन गरिएको थियो । निरीक्षणका क्रममा निर्माण कार्य भइरहेको अवस्थामा खाद्य उत्पादनसमेत सञ्चालन गरिएको, बेकरीजन्य पदार्थ सिल नगरी बिक्री वितरण गरिएको तथा पकाउने खाद्य पदार्थमा समेत कृत्रिम खाद्य रंग प्रयोग भइरहेको पाइएको विभागले जनाएको छ ।

उक्त व्यवसायले तीनवटा उत्पादनका लागि मात्र खाद्य अनुमतिपत्र लिएको भए पनि अनुमतिपत्रबाहेकका अन्य खाद्य पदार्थसमेत उत्पादन गरिरहेको भेटिएको बताइएको छ । विभागले निर्माण कार्य र खाद्य उत्पादनको समय अलग गर्न, अनुमतिपत्र प्राप्त उत्पादनबाहेकका अन्य उत्पादन तत्काल बन्द गरी आवश्यक अनुमतिपत्र लिन, बेकरी पदार्थ सिल गरेर मात्र बिक्री गर्न तथा पकाउने प्रयोजनमा कृत्रिम खाद्य रंग प्रयोग नगर्न निर्देशन दिएको छ ।

यसैबीच, विभागले नागार्जुन क्षेत्रमा खाद्य तथा पेय पदार्थको गुणस्तर र स्वच्छतासम्बन्धी गुनासोका आधारमा थप दुई व्यवसायमा पनि अनुगमन गरेको छ ।

नागार्जुन नगरपालिका–२ स्थित ‘दारी बा को दुग्ध भण्डार’मा गुणस्तरहीन दूध बिक्री वितरण भइरहेको गुनासोपछि गरिएको निरीक्षणका क्रममा व्यवसाय दर्ता भए पनि खाद्य अनुमतिपत्र नभएको उद्योगबाट बेकरीजन्य खाद्य पदार्थ खरिद गरी बिक्री वितरण गरेको पाइएको विभागले जनाएको छ । पसलको सरसफाइ सामान्य रहे पनि कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नरहेको पाइएको छ ।

विभागले खाद्य अनुमतिपत्र नभएको उद्योगबाट बेकरीजन्य खाद्य पदार्थ खरिद नगर्न व्यवसायीलाई निर्देशन दिएको छ । साथै, थप अनुसन्धान तथा प्रयोगशाला परीक्षणका लागि गाई र भैंसीको खुला दूधको नमुना संकलन गरिएको छ ।

त्यस्तै, नागार्जुन नगरपालिका-३ स्थित त्रिशक्ति बेभेरेज इन्डस्ट्रिज प्रालिमा जारको प्रशोधित पानीमा किरा भेटिएको गुनासोपछि अनुगमन गरिएको थियो । निरीक्षणका क्रममा उद्योगको सरसफाइ सामान्य रहे पनि प्रशोधन कक्षका पाइपमा लिकेज रहेको पाइएको विभागले जनाएको छ ।

उद्योगका कामदारले काम गर्ने क्रममा चुरा, घडी, औंठीलगायतका गरगहना नछोपी काम गरिरहेको समेत भेटिएको थियो । विभागले प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ बमोजिम आवश्यक सुधार गर्न उद्योगलाई निर्देशन दिएको छ ।

विभागले उक्त उद्योगबाट प्रशोधित पिउने पानीको नमुनासमेत संकलन गरेको छ । प्रयोगशाला परीक्षण तथा थप अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा आवश्यक कारबाही अघि बढाइने र खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना नगर्ने व्यवसायमाथि नियमित तथा आकस्मिक अनुगमनलाई निरन्तरता दिने विभागले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस