‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोलिदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने ‘१८औँ नाडा अटो शो २०२६’को सम्पूर्ण तयारी पुरा भएको छ । मोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले सोमबार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पुरा भएको बताएको हो ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार सोमबारसम्ममा २ सय १५ भन्दा बढी स्टलहरु बनीसकेका छन् । सोमबार पत्रकारहरुलाई प्रदर्शनीस्थलको भ्रमण गराउँदै अध्यक्ष उप्रेतीले गत वर्षहरुको भन्दा यसपालि स्टल फराकिलो र व्यवस्थित रहेको दाबी गरे । प्रदर्शनीस्थल ह्विलचेयरमैत्री छ भने बत्ती, एसी र पंखाहरुको पर्याप्त व्यवस्था पनि गरिएको छ ।

त्यस्तै प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पाट्र्स र ग्यारेज उपकरण साथै ‘मेड इन नेपाल र मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी पाँच क्षेत्रमा विभाजन गरिएको छ ।

त्यस्तै अवलोकन गर्न चाहने अवलोकनकर्ताले पहिले सवारीसाधन, त्यसपछि वित्त, बीमा, सर्भिस र पार्टस् सम्बन्धी गरी तीन भागमा विभाजन गरी अवलोकत गर्न सक्नेछन् । जसले गाडी किन्नेहरुले खर्च र सुविधाबारे राम्रोसँग जानकारी प्राप्त गर्नेछन् ।

नाडाका अनुसार प्रदर्शनीस्थलमा ५३ सवारी ब्रान्ड, ७० पार्टस् तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाहरुले भाग लिएका छन् ।
‘नाडा अटो शो’ अबलोकनकर्ताहरुको सुविधालाई मध्यनजर राख्दै नाडाले अग्रिम टिकट बुकिङको पनि व्यवस्था गरेको छ । अग्रिम टिकको लागि खल्तीको एप वा आधिकारिक क्युआर कोड मार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । त्यस्तै सर्वसाधारणहरुको लागि प्रवेश शुल्क २०० र विद्यार्थीका लागि १५० रुपैयाँ रहेको नाडाले जनाएको छ ।

भोलि बिहान साढे १० बजेदेखि सुरु हुने सो कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसाय प्रसाद यादवले गर्नेछन् । पत्रकार सम्मेलनमा अध्यक्ष उप्रतीले अवलोकनकर्ताको लागि दुई स्थान नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधनको पार्किङको व्यवस्था गरिएको जानकारी दिए ।

त्यस्तै प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया र आकस्मिक स्वास्थ्य सेवा पनि उपलब्ध रहेको छ । त्यसैगरी सिसिटिभी निगरानी र अग्नि नियन्त्रण प्रणाली को व्यवस्था गरेको नाडाले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस