
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक सत्तापक्षकै सांसदहरू अनुपस्थित भएपछि विश्वासको मत संकटमा परेको छ । सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सात सांसद बैठकमा उपस्थित नभएपछि मुख्यमन्त्रीलाई आवश्यक मत जुटाउन चुनौती थपिएको हो ।
सोमबार विश्वासको मत लिने कार्यसूची रहे पनि नेकपाका गंगानारायण श्रेष्ठ, उर्मिला लामा, रुकु चौलागाईं, कृष्ण खनाल, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ र युवराज चौलागाईंलगायत सांसद प्रदेशसभा बैठकमा अनुपस्थित रहे ।
मन्त्रिपरिषद् विस्तार तथा सरकारमा सहभागी गराउने विषयमा पार्टीभित्र पर्याप्त छलफल नगरी निर्णय गरिएको भन्दै उनीहरू असन्तुष्ट बनेको बताइएको छ । आइतबार हेटौंडामा बसेको नेकपा संसदीय दलको बैठकमा समेत असन्तुष्ट सांसदहरू सहभागी भएका थिएनन् ।
यसअघि नेकपा बागमती प्रदेश संसदीय दलले सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री थापा मगरले पेस गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको थियो ।
नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जारी गरेको पत्रमा प्रदेश सभाको १८औँ बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न दलका नेता शालिकराम जम्कट्टेलको निर्देशनअनुसार सांसदहरूलाई सूचित गरिएको भए पनि सात जना सांसद अनुपस्थित रहेका थिए ।
मुख्यमन्त्री थापामगरलाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात् ५३ सांसदको समर्थन आवश्यक छ ।
यसैबीच, विश्वासको मत लिनुअघि असन्तुष्ट सांसदहरूलाई सहमतिमा ल्याउने प्रयास भइरहेको नेकपा एमालेले जनाएको छ । तर, सत्तापक्षभित्रको असन्तुष्टि समाधान हुन नसके र प्रतिपक्षले समेत अवरोध गरे मुख्यमन्त्री थापामगरका लागि विश्वासको मत प्राप्त गर्न कठिन हुने देखिएको छ ।
सत्तापक्षकै सांसदहरू अनुपस्थित हुने भएपछि साँझ ५ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकसमेत निर्धारित समयमा बस्न सकेको छैन । बैठक सूचना टाँसेर स्थगित गर्ने तयारी भइरहेको जनाइएको छ ।