विश्वासको मत लिँदै मुख्यमन्त्री थापा, गठबन्धनभित्रको असन्तुष्टिले बढायो चुनौती

दियोपोस्ट संवाददाता

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि प्रदेशसभा बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

यसअघि सोमबार पटक-पटक स्थगित हुँदै राति ८ बजेका लागि बैठक बोलाइएको थियो । तर निर्धारित समयमा पनि बैठक बस्न नसकेपछि विश्वासको मत लिने कार्यसूची आजका लागि सारिएको हो ।

मुख्यमन्त्री थापाले आइतबारदेखि नै विश्वासको मत लिने तयारी गरेका थिए । तर सत्ता गठबन्धनभित्रको आन्तरिक विवाद र सांसदहरूको असन्तुष्टिका कारण उनको विश्वासको मत अन्योलमा परेको थियो । सोमबार विश्वासको मतका पक्षमा उभिने भनिएका नेकपाका सात सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्री थप दबाबमा परेका थिए ।

मन्त्री नियुक्ति र शक्ति बाँडफाँटप्रति असन्तुष्ट रहेका नेकपाका कृष्ण शर्मा खनाल, गंगानारायण श्रेष्ठ, उर्मिला लामा, रुकु चौलागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ र युवराज चौलागाईंसहितका सांसद बैठकमा उपस्थित भएनन् । उनीहरू काठमाडौँमा रहेको बताइएको छ ।

बागमती सरकारको सत्ता साझेदार नेकपाभित्र मन्त्री छनोट, सभामुख पद र शक्ति बाँडफाँटलाई लिएर विवाद चर्किएको छ । तत्कालीन नेकपा माओवादी केन्द्रको एकलौटी निर्णय गरिएको, पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू मात्रै निर्णय प्रक्रियामा हाबी भएको र पार्टीभित्र पर्याप्त छलफल नगरी जिम्मेवारी बाँडफाँट गरिएको भन्दै नेकपाभित्र विवाद चर्किएको बताइएको छ ।

मुख्यमन्त्री थापालाई विश्वासको मत लिनका लागि सभामुख पदसम्बन्धी विवादले समेत समस्या थपेको छ । राप्रपाका भुवनकुमार पाठकले जेनजी आन्दोलनका क्रममा राजीनामा दिएपछि बागमती प्रदेशसभा करिब एक वर्षदेखि सभामुखविहीन छ । सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार सभामुख पद नेकपाको भागमा परेको छ ।

सभामुखका लागि नेकपाबाट कृष्ण शर्मा खनाल र गंगानारायण श्रेष्ठलगायत आकांक्षी छन् । यसअघि रत्नप्रसाद ढकालको नामसमेत चर्चामा थियो । ढकाल जम्कट्टेलनिकट मानिन्छन् । तर पार्टीभित्र पर्याप्त छलफल नगरी जिम्मेवारी बाँडफाँट गरिएको भन्दै केही सांसद असन्तुष्ट बनेका छन् ।

सरकार गठनका क्रममा नेकपाले पाएको दुई मन्त्रालयमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरल सहयात्री पौडेललाई जिम्मेवारी दिइएको छ भने अर्को एक मन्त्री नियुक्त गर्न बाँकी छ । मन्त्री बन्ने आकांक्षी धेरै भएपछि नेकपाभित्र विवाद थप चर्किएको हो । पूर्वमाओवादी पृष्ठभूमिका पौडेल मन्त्री बनिसकेकाले तत्कालीन नेकपा (एकीकृत समाजवादी) पृष्ठभूमिका एक जनालाई मन्त्री बनाउनुपर्ने दबाब जम्कट्टेलमाथि छ । उनले रमा आले मगरलाई मन्त्रीका रूपमा अघि सारेको बताइएको छ ।

नेकपाका एक सांसदका अनुसार रमा आले मगरलाई मन्त्री बनाउने विषय, कृष्ण शर्मा खनालको सभामुखमा दाबी र अन्य नेताहरूको मन्त्री बन्ने आकांक्षाले पार्टीभित्र समस्या सिर्जना गरेको हो ।

नेकपा संसदीय दलको आइतबार हेटौँडामा बसेको बैठकमा पनि असन्तुष्ट सांसदहरू सहभागी भएका थिएनन् । कृष्ण शर्मा खनाल र गंगानारायण श्रेष्ठ मुख्यमन्त्रीका दाबेदार थिए । भागबन्डामा एमालेको नेतृत्वमा सरकार बनेपछि श्रेष्ठले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए ।

नेकपाका पूर्वमाओवादी पृष्ठभूमिका सांसद प्रेमबहादुर पुलामी पनि पार्टीभित्र आफू पटक-पटक अन्यायमा परेको भन्दै असन्तुष्ट छन् । यद्यपि उनी सोमबार प्रदेशसभा बैठकमा उपस्थित थिए । दुई पटक प्रदेशसभा सदस्य निर्वाचित पुलामीले लामो समय सत्तामा रहे पनि आफू मन्त्री बन्नबाट वञ्चित भएको गुनासो गरेका छन् । पार्टीको निर्णय कार्यान्वयनमा भने आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

यता, सरकारलाई समर्थन गरेको राप्रपाभित्रको विवाद पनि बढ्दै गएको छ । सत्ता गठबन्धनकै सांसदहरूमा देखिएको असन्तुष्टि र राप्रपाभित्रको विभाजनका कारण मुख्यमन्त्री थापाका लागि विश्वासको मत जुटाउनु चुनौतीपूर्ण बनेको हो ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ सांसदको समर्थन जुटाउनुपर्नेछ ।

सम्बन्धित खबर

सिफारिस