रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा वृद्धाको मृत्यु, दुई जना घाइते

दियोपोस्ट संवाददाता

रौतहट । रौतहटको मौलापुर नगरपालिका-२ मर्यादपुरस्थित मौलापुर-शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार थिए।

दुर्घटनामा मोटरसाइकल चालक फतुवा विजयपुर नगरपालिका-२ शीतलपुरका ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी ७० वर्षीया आमा सोमरिया देवी र २८ वर्षीया बुहारी सीमा कुमारी घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी अस्पताल लगिएको थियो । उपचारका क्रममा सोमरिया देवी ठाकुरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका त्रिविक्रम ठाकुर र सीमा कुमारीको उपचार भइरहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।