
काठमाडौँ । काठमाडौँमा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका-७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका-९ बस्ने २० वर्षीय रविन राई र धादिङको गंगाजमुना गाउँपालिका-७ घर भई हाल सोही स्थानमा बस्ने ३१ वर्षीय सुनिल खत्री रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले २०८३ भदौ १४ गते बिहान १ बजेदेखि ५ बजेको बीचमा काठमाडौँ महानगरपालिका-२६ रानीबारीस्थित रानीदेवी विद्यालय नजिक सडकमा पार्किङ गरी राखिएको बा.९३ प ६९९७ नम्बरको होन्डा डियो स्कुटर चोरी गरी फरार भएका थिए।
सोही घटनाको अनुसन्धान तथा खोजतलासका क्रममा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ तारकेश्वर नगरपालिका-९, नयाँ बसपार्कबाट चोरी भएको स्कुटरसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको प्रहरीले जनाएको छ।