
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘नाडा अटो शो २०२६’ आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ । भदौ १४ गतेसम्म सञ्चालन हुने उक्त अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
करिब तीन लाख वर्गफुट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा साना तथा ठूला गरी दुई सयभन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल तथा १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन प्रदर्शनमा राखिने बताइएको छ ।
यसै अवसरमा नामीले आफ्नो नयाँ विद्युतीय सवारी ‘नामी बक्स’ सार्वजनिक गर्ने तयारी गरेको छ । सन् २०२४ मा पहिलोपटक नेपाली बजारमा सार्वजनिक भएको नामी बक्स आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन तथा आधुनिक सुविधाका कारण छोटो समयमै लोकप्रिय बनेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार हाल नेपालका सडकमा दुई हजारभन्दा बढी नामी सवारीसाधन सञ्चालनमा रहेका छन् । यसले नेपाली बजारमा नामीको बलियो उपस्थिति स्थापित गरेको जनाएको छ । नामी भिगो २ को सफल सार्वजनिकरणपछि नयाँ नामी बक्स अझ परिष्कृत तथा आकर्षक सुविधासहित बजारमा आउने अपेक्षा गरिएको छ ।
नयाँ नामी बक्सका सम्पूर्ण फिचर्स, स्पेसिफिकेसन तथा मूल्य ‘नाडा अटो शो २०२६’ कै क्रममा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।