उपत्यकाका खाल्डाखुल्डी पुर्न चौबीसै घण्टा ‘सडक एम्बुलेन्स’ परिचालन

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक डिभिजन कार्यालय काठमाडौँले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । सडकलाई सुरक्षित, व्यवस्थित र खाल्डाखुल्डीमुक्त बनाउने उद्देश्यले विशेष उपकरणसहितको एम्बुलेन्स परिचालन गरिएको हो ।

कार्यालयले यसअघि चक्रपथभित्रका सडकको मर्मतलाई प्राथमिकतामा राखेर काम गरेको र अहिले चक्रपथबाहिरका सडकमा समेत मर्मत अभियानलाई तीव्रता दिएको जनाएको छ। सवारीसाधनको चाप कम हुने रातिको समयलाई समेत उपयोग गर्दै क्षतिग्रस्त सडक मर्मत गर्ने काम भइरहेको छ।

कार्यालयका अनुसार ‘सडक एम्बुलेन्स’ सेवा वर्षभरि ३६५ दिन चौबीसै घण्टा सञ्चालन गर्ने योजना बनाइएको छ। सडकमा खाल्डाखुल्डी देखिएलगत्तै प्राविधिक टोलीसहित एम्बुलेन्स सम्बन्धित स्थानमा पुगेर मर्मत गर्ने व्यवस्था मिलाइएको छ।

सोमबार साँझ नारायणगोपाल चोक–बुढानीलकण्ठ सडकखण्डअन्तर्गत गोल्फुटार र हात्तीगौंडालगायत क्षेत्रमा सडकका क्षतिग्रस्त भाग मर्मत गरिएको थियो।

एम्बुलेन्समा सडकका खाल्डा काट्ने, हावा तथा पानीको प्रयोग गरी सफा गर्ने, इमल्सन तताउने तथा छर्कनेलगायत मर्मतका लागि आवश्यक उपकरण जडान गरिएको छ। मर्मत कार्यलाई प्रभावकारी बनाउन तालिमप्राप्त प्राविधिक टोलीसमेत परिचालन गरिएको कार्यालयले जनाएको छ।

यस्तै, मर्मत आवश्यक पर्ने सडकको पहिचान र जानकारी संकलनका लागि कार्यालयले ‘रोड मेन्टिनेन्स साइट रेस्क्यु (आरएमएसआर)’ नामक मोबाइल एपसमेत सञ्चालनमा ल्याएको छ । एपमार्फत प्राप्त जानकारीका आधारमा सम्बन्धित स्थानमा टोली परिचालन गरी तत्काल मर्मत कार्य अघि बढाइने जनाइएको छ।

सम्बन्धित खबर

सिफारिस