
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिकामा आउने कार, ट्रक र अटोमोटिभ पार्टपुर्जामा ५० प्रतिशत भन्सार शुल्क बढाउने धम्की दिएका छन् । ट्रम्पले आगामी जनवरी १, २०२७ देखि ५० प्रतिशत भन्सार शुल्क बढाउने धम्की दिएका हुन् ।
अमेरिका र क्यानडाबीचको व्यापार सम्झौता सम्बन्धी वार्ता असफल भएपछि दुई देशबीचको व्यापार तनाव थप बढेको हो ।
अन्तर्राष्ट्रिय संचारमाध्यम अनुसार गत हप्ता दुई देशबीच भएको वार्तामा क्यानडाली कार र हल्का ट्रकमा लाग्ने भन्सार शुल्क २५ प्रतिशतबाट १५ प्रतिशतमा झार्ने तथा स्टील र आल्मुनियममा लाग्ने शुल्क ५० प्रतिशतबाट २५ प्रतिशतमा घटाउने प्रस्ताव थियो । तर विभिन्न विषयमा सहमति हुन नसकेपछि शुक्रबार वार्ता असफल भएको थियो।
ट्रम्पले क्यानडाको व्यापारिक व्यवहारप्रति पनि असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत क्यानडालाई अमेरिकामा उत्पादन गर्न सुझाव दिएका छन् । अमेरिकामै निर्माण गरिएका वस्तुमा शून्य शुल्क लाग्ने उनको भनाइ छ।
यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प क्यानडासँग पुनः वार्ता गर्न चाहेको बताएका छन्। तर अमेरिका क्यानडाले राम्रो विश्वासका साथ वार्तामा सहभागी होस् भन्ने चाहेको बताए ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने अमेरिकासँग दुवै देशलाई फाइदा हुने व्यापार सम्झौता सम्भव रहेको बताएका छन् । तर त्यसका लागि अमेरिकाले क्यानडाको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने उनको भनाइ छ।
क्यानडाली अटो पार्ट्स उत्पादक संघका अध्यक्ष फ्लाभियो भोल्पेले क्यानडाली अटो पार्ट्समा उच्च कर लगाइए त्यसको असर अमेरिकी अटो उद्योगमै पर्ने चेतावनी दिएका छन् । क्यानडाबाट आउने विशेष पार्टपुर्जा बिना अमेरिकाका अटो एसेम्बली उद्योग प्रभावित हुन सक्ने उनले बताएका छन्।
यसैबीच, क्यानडाले पनि अमेरिकाले लगाएको करको जवाफमा केही अमेरिकी सामानमा प्रतिशोधात्मक भन्सार शुल्क लगाउने घोषणा गरेको छ। क्यानडाले सेप्टेम्बर ८ देखि करिब २० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी उत्पादनमा कर लगाउने जनाएको छ।