उपराष्ट्रपति यादवले गरे ‘नाडा अटो शो २०२६’ को उद्घाटन

दियोपोस्ट संवाददाता

काठमाडौँ । स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) स्थापनाको ५०औँ वर्षको अवसरमा आयोजना गरिएको अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए। उनले उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए।

सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी र लगानीमैत्री नीति निर्माण गर्नुपर्ने उनको भनाइ थियो । उनले नाडाको ५० वर्षको यात्रालाई नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोडिएको पाँच दशक लामो यात्राका रूपमा उल्लेख गरे।

नेपाललाई अटोमोबाइलसम्बन्धी प्रविधि, सेवा, सीप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्नेमा पनि उपराष्ट्रपति यादवले जोड दिए। विश्वको अटोमोबाइल उद्योग विद्युतीय सवारी, स्वचालित सवारी, स्मार्ट मोबिलिटी र डिजिटल प्रविधितर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले नेपालका व्यवसायीले यस परिवर्तनलाई अवसरका रूपमा लिनुपर्ने बताए।

उद्योग व्यवसायको अवस्था कमजोर : श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जनकुमार श्रेष्ठले चुनौतीपूर्ण आर्थिक अवस्थाका कारण उद्योग व्यवसायको अवस्था कमजोर बनेको बताए।

बजारमा माग बढ्न नसकेको र व्यवसायीको मनोबल कमजोर अवस्थामा पुगेको उनको भनाइ थियो । आफ्नो ३६ वर्षको व्यावसायिक यात्रामा उद्योगी-व्यवसायीको मनस्थिति यति कमजोर कहिल्यै नदेखेको उनले बताए।

श्रेष्ठले अर्थतन्त्रलाई पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा जोड दिए । आगामी १० वर्षपछि नेपालले जनसांख्यिक लाभ प्राप्त गर्ने अवस्था नरहने भएकाले अहिले नै देशभित्र उद्योग स्थापना गरी स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

उनले अटोमोबाइल क्षेत्रमा स्पेयर पार्ट्स उत्पादनको सम्भावना रहेको भन्दै नेपालमै स्पेयर पार्ट्स उत्पादनका लागि प्रयास गर्नुपर्ने बताए । निजी क्षेत्रले सरकारको लक्ष्यमा साथ दिने उनको भनाइ थियो।

व्यवसाय सञ्चालनमा कठिनाइ बढ्दै गएको उल्लेख गर्दै श्रेष्ठले नीतिगत स्थिरता र लगानीमैत्री वातावरण आवश्यक रहेको बताए ।

अटोमोबाइल क्षेत्रलाई व्यापारका रूपमा मात्र हेर्न हुँदैन : उप्रेती

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको व्यापारका रूपमा हेर्न नहुने बताए ।

यो क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बीमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको उनको भनाइ थियो । नाडाका अनुसार अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको छ भने राज्यको राजस्वमा ९० अर्ब रुपैयाँभन्दा बढी योगदान हुँदै आएको छ।

उप्रेतीले दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता अत्यावश्यक रहेको बताए । करका दर तथा नीतिमा पटक-पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने भन्दै उनले कर नीतिमा स्थिरता कायम गर्न सरकारसँग आग्रह गरे।

सवारीसाधनलाई अझै पनि विलासी वस्तुका रूपमा हेर्ने दृष्टिकोणमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो । बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार कर नीति थप व्यावहारिक तथा उपभोक्तामैत्री बनाउनुपर्ने उनले बताए ।

उप्रेतीले काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्नुपर्ने आवश्यकतासमेत औँल्याए।

सम्बन्धित खबर

सिफारिस