पैगम्बर मोहम्मदको १५०१औँ जन्मजयन्ती आज मनाइँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहिवसल्लमको १५०१औँ जन्मजयन्ती बुधबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई आफ्नो प्रमुख सन्देष्टाका रूपमा मान्ने गर्छ। उहाँको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि उहाँ मदिना जानुभएको थियो। पैगम्बर मोहम्मदको जन्म भएको ५३ वर्षपछि इस्लामिक पात्रो अर्थात् हिजरी संवत् सुरु भएको मानिन्छ। हाल हिजरी संवत् १४४८ चलिरहेको छ।

मक्का र मदिनालाई मुस्लिम समुदायले पवित्र स्थलका रूपमा मान्दै आएको छ। पैगम्बर मोहम्मदले उपदेश दिने क्रममा कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायमा रहेको छ। कुरान अवतरणपछि मक्का मुस्लिम धर्मावलम्बीको प्रमुख तीर्थस्थलका रूपमा स्थापित भएको मानिन्छ।

इस्लाम धर्ममा महत्वपूर्ण योगदान पुर्‍याएका पैगम्बर मोहम्मदका उपदेश तथा शिक्षालाई स्मरण गर्दै जन्मजयन्ती मनाउने गरिन्छ। यस अवसरमा बुधबार विभिन्न स्थानमा र्‍याली, सभा तथा धार्मिक कार्यक्रम आयोजना गरिँदैछ।

काठमाडौँस्थित नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ।