
रसुवा । रसुवा जिल्लामा बुधबार बिहान आकस्मिक बाढी आएको छ। बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजारका बस्तीमा ठूलो क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
कार्यालयका अनुसार बाढीले टिमुरे बजारका धेरै घर बगाएको छ । घटनाबाट ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको भए पनि क्षतिको पूर्ण विवरण भने हालसम्म खुल्न सकेको छैन।
इलाका प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीमध्ये हालसम्म ६-७ जनामात्र सम्पर्कमा आएको बताइएको छ।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गर्दै रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको जनाएको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
यसैबीच, सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। साथै, उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न भनिएको छ।
सरकारले रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। नदी किनार तथा पहिरोको जोखिम रहेका स्थानमा नजान र अनावश्यक यात्रा नगर्न पनि अनुरोध गरिएको छ।
स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना र चेतावनीको पालना गर्न आग्रह गर्दै सरकारले अवस्था अझै विकसित हुन सक्ने भएकाले अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गर्न तथा आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ।