रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  रसुवा जिल्लामा आएको आकस्मिक बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आकस्मिक बैठक बोलाएका छन्।

बुधबार बिहान ११ बजे बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बाढीबाट भएको क्षति तथा सम्भावित खोज, उद्धार र राहत कार्यका विषयमा बैठकमा छलफल हुने बताइएको छ।

यसअघि अहिले सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ।

रसुवामा आएको बाढीबाट ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएका बेला सम्भावित खोज, उद्धार तथा राहत कार्यलाई तत्काल परिचालन गर्न सरकारले आवश्यक तयारी तीव्र पारेको छ ।

प्रधानमन्त्री कार्यालयले उद्धार कार्यका लागि हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। साथै, निजी कम्पनीका हेलिकप्टरलाई समेत खोज तथा उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएको जनाइएको छ।