तिब्बतबाट आएको बाढी मलेखुको आदमघाट पुग्यो, टिमुरेका ९ सुरक्षाकर्मी सम्पर्कविहीन

दियोपोस्ट संवाददाता

रसुवा । रसुवाको टिमुरे बजारमा बुधबार बिहान तिब्बततर्फबाट आएको आकस्मिक भीषण बाढी मलेखुको आदमघाट पुगेको छ । बाढी भोटेकोशी हुँदै त्रिसुली नदीमा मिसिएको हो ।

बाढीका कारण टिमुरेस्थित सुरक्षा निकायका संरचनासमेत प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी (बीओपी)मा कार्यरत इन्स्पेक्टरसहित ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । उनीहरूको अवस्था यकिन हुन सकेको छैन र खोजी तथा उद्धारको प्रयास भइरहेको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट भोटेकोशीमा ठूलो बाढी आएको सूचना प्राप्त भएको थियो । बाढीको कारणबारे भने यकिन भइसकेको छैन ।

बाढीले टिमुरे बजारका घर तथा अन्य संरचना बगाएको र रसुवा भन्सार क्षेत्रसमेत प्रभावित भएको बताइएको छ। सडक, पुल तथा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएका छन् ।

जिल्ला प्रशासन तथा सुरक्षा निकायले बाढीबाट भएको मानवीय र भौतिक क्षतिको विवरण संकलन तथा उद्धारको काम अघि बढाइरहेका छन् । घटनास्थलमा सञ्चार तथा यातायात सम्पर्कसमेत प्रभावित भएकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्ने बताइएको छ ।

बिहान करिब ९ बजेतिर भोटेकोशी नदीमा एक्कासि आएको बाढीले टिमुरे बजार तथा आसपासका बस्ती, सडक र भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवा हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनतर्फ बग्ने नदीको तटीय क्षेत्रमा समेत जोखिम बढेको छ। सम्बन्धित प्रशासनले नदी तथा खोलाको किनारमा नजान र तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।