मेडिकल टिम बोकेर बाढी प्रभावित क्षेत्रतर्फ उड्यो सेनाको हेलिकप्टर

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) काठमाडौँबाट बाढी प्रभावित क्षेत्रतर्फ परिचालित भएको छ।

नेपाली सेनाको एआई-१७ हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौँबाट जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन्।

यसका साथै धुन्चे र त्रिशूलीबाट पनि उद्धार टोली परिचालन गरिएको छ। यसअघि नै नेपाली सेनाका दुईवटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइसकेका छन्।

प्रारम्भिक विवरणअनुसार सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बीओपी) मा कार्यरत एक इन्स्पेक्टरसहित नौ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्  । उनीहरूको अवस्था अझै यकिन हुन नसकेको र खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

बुधबार बिहान करिब ९ बजेतिर भोटेकोशी नदीमा एक्कासि आएको बाढीले रसुवाको टिमुरे बजार तथा आसपासका बस्ती, सडक र विभिन्न भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवा हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनतर्फ बग्ने नदीका तटीय क्षेत्रमा समेत जोखिम बढेको छ। सम्बन्धित प्रशासनले नदी तथा खोलाको किनारमा नजान र तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।