
काठमाडौँ । रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडकखण्ड पूर्णरूपमा बन्द गरिएको छ । बाढीका कारण राजमार्ग क्षेत्रमा थप क्षति हुनसक्ने जोखिम बढेपछि सवारी आवागमनमा रोक लगाइएको हो ।
बाढीले धादिङ जिल्लाअन्तर्गत राजमार्ग क्षेत्रसमेत प्रभावित पारिसकेको र जोखिम थप फैलिन सक्ने अवस्था रहेकाले दुवैतर्फबाट सडक बन्द गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए ।
उनका अनुसार बाढीका कारण दर्जनौँ बस्ती तथा बजार प्रभावित भएका छन् । तटीय क्षेत्रका बासिन्दाको उद्धार तथा खोजी कार्यका लागि काठमाडौँबाट विपद् व्यवस्थापनमा खटिएको प्रहरी टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा जोखिमयुक्त स्थानबाट सुरक्षित क्षेत्रमा जान सर्वसाधारणलाई आग्रह गरेको छ ।