
काठमाडौँ । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा एक्कासि प्रवेश गरेको भीषण बाढी धादिङको गजुरीदेखि तल पुगेको छ । बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुर्याउँदै तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएको हो ।
पछिल्लो विवरणअनुसार बाढी धादिङको आदमघाट पार गर्दै गजुरी क्षेत्रमा पुगेको छ । गजुरी र मलेखुसहित त्रिशूली नदी आसपासका जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा सवारी आवागमन रोकिएको छ भने जोखिमयुक्त क्षेत्रमा रहेका सवारीसाधनलाई सुरक्षित स्थानमा होल्ड गरिएको जनाइएको छ । प्रशासनले नदी किनार, बगर तथा होचा भूभागमा रहेका नागरिकलाई तत्काल अग्लो र सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट भोटेकोशीमा असामान्य रूपमा ठूलो पानीको बहाव प्रवेश गरेको थियो । बाढी रसुवा हुँदै नुवाकोटको विदुरभन्दा तलसम्म पुगेपछि धादिङ र चितवनतर्फ समेत जोखिम बढेको हो । त्रिशूली नदी हुँदै मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिममा राखिएको छ।
बाढी मुग्लिनतर्फ समेत बढिरहेकाले चितवन प्रशासनले मुग्लिन बजार, नारायणगढको नारायणी नदी किनार तथा अन्य जोखिमयुक्त तटीय बस्तीमा सतर्कता बढाएको छ। जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।
यसअघि बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक अनुमान छ । मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने अझै स्पष्ट भइसकेको छैन ।
प्रहरी र प्रशासनले त्रिशूली नदी तथा भोटेकोशीको तटीय क्षेत्रमा नजान, नदी किनारमा रहेका घर तथा पसल खाली गर्न र अर्को सूचना नआएसम्म सुरक्षित स्थानमै बस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।