भोटेकोशीमा आएको भीषण बाढी वर्षाका कारण होइन, हिमताल फुटेको आशंका

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढी नेपालतर्फ भएको वर्षाका कारण नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार पछिल्लो २४ घण्टामा रसुवाका विभिन्न स्थानमा सामान्य वर्षा भए पनि सात मिलिमिटरभन्दा बढी वर्षा भएको छैन ।

यस्तो सामान्य वर्षाले भोटेकोशीमा आएको जस्तो विनाशकारी बाढी ल्याउन नसक्ने उनको भनाइ छ । बाढीको प्रकृति र स्थानीय वर्षाको अवस्थालाई हेर्दा माथिल्लो जलाधार क्षेत्रबाट एक्कासि ठूलो परिमाणमा पानी आएको हुन सक्ने विभागको प्रारम्भिक आंकलन छ ।

हिमताल फुटेको, हिमपहिरो वा पहिरोका कारण नदी थुनिएर बनेको प्राकृतिक बाँध अचानक फुटेको हुन सक्ने सम्भावनासमेत अध्ययन गरिने उनले बताए । बाढीको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान गरिने अर्यालले बताए ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि नेपालतर्फ ठूलो वर्षा नभएको र तिब्बततर्फबाट अचानक बाढी आएको जानकारी प्राप्त भएको बताएका छन् । उनका अनुसार धुन्चे आसपासमा समेत बाढी ल्याउने गरी वर्षा भएको थिएन ।

बुधबार बिहान करिब ९ बजे अचानक आएको बाढीले रसुवाको टिमुरे बजारमा ठूलो क्षति पुर्‍याएको छ । प्रारम्भिक विवरणअनुसार बजारका धेरै घर बगाएका छन् भने प्रहरीका तीन वटा कार्यालय-इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीमा समेत क्षति पुगेको छ ।

टिमुरेमा कार्यरत १५ जना प्रहरीमध्ये आठ जना मात्र सम्पर्कमा आएको र बाँकीको अवस्था यकिन हुन नसकेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा सडक तथा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले क्षतिको पूर्ण विवरण संकलनमा कठिनाइ भइरहेको छ ।

बाढीले स्याफ्रुबेँसीलगायतका क्षेत्रमा समेत क्षति पुर्‍याएको छ । स्थानीय विवरणअनुसार केही जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ। बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा समेत जोखिम बढेको जनाएको छ। रसुवाबाट नुवाकोट, धादिङ हुँदै चितवनतर्फका तटीय बस्तीका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

भोटेकोशीमा यसअघि पनि माथिल्लो हिमाली तथा तिब्बती क्षेत्रमा उत्पन्न आकस्मिक बाढीका कारण ठूलो क्षति भएको थियो । जल तथा मौसम विज्ञान विभागको अघिल्लो अध्ययनले समेत रसुवाको भोटेकोशीमा अचानक ठूलो बाढी प्रवेश गर्ने घटनालाई नदीको माथिल्लो क्षेत्रमा उत्पन्न परिस्थितिसँग जोडेर अध्ययन गरेको थियो ।

यसपटक पनि स्थानीय वर्षाले बाढीको कारण पुष्टि नगरेपछि बाढीको स्रोत कहाँ थियो भन्ने विषय थप महत्वपूर्ण बनेको छ । विभाग र सम्बन्धित निकायको स्थलगत तथा प्राविधिक अध्ययनपछि मात्रै हिमताल फुटेको हो वा प्राकृतिक बाँध भत्किएको हो भन्ने यकिन हुने देखिएको छ ।