मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

दियोपोस्ट संवाददाता

काठमाडौँ । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले ललितपुरस्थित लबिम मलको क्यूएफएक्स सिनेमामा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार मोटोरोला एज ७० फ्युजनमा ५० मेगापिक्सेलको सोनी-एलवाईटी ७१० क्यामेरा, मोटो एआई, ७ हजार एमएएच ब्याट्री, ६८ वाट टर्बोपावर चार्जिङ तथा १४४ हर्जको १.५के क्वाड-कर्भ्ड डिस्प्ले रहेको छ । डिस्प्लेले ५ हजार २०० निट्ससम्मको ब्राइटनेस प्रदान गर्ने कम्पनीले जनाएको छ।

फोन प्रिमियम फेब्रिक फिनिसका साथै प्यान्टोनद्वारा छनोट गरिएका आकर्षक रङमा उपलब्ध हुने जनाइएको छ।

मोटोरोला एज ७० फ्युजन आगामी २९ अगस्ट २०२६ देखि नेपालभर उपलब्ध हुने र यसको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस मूल्यमा उपलब्ध फिचरका आधारमा मोटोरोला एज ७० फ्युजन आफ्नो श्रेणीका प्रतिस्पर्धी स्मार्टफोनमध्ये आकर्षक विकल्प बन्न सक्नेछ।

मोटोरोला नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत उपलब्ध हुँदै आएको छ । कम्पनीले बिक्रीसँगै देशभर व्यापक वितरण तथा सेवा केन्द्रको सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

स्मार्टफोनको सार्वजनिक मोटोरोला नेपालका कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एससी साबुले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा नेपाली चलचित्र ‘मास्टर्नी’का कलाकार प्रियंका कार्कीसहित निर्माण टिमको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा देशभरका डिलर, रिटेलर, इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका अतिथिको सहभागिता रहेको थियो ।

मोटोरोला र चौधरी ग्रुपले चलचित्र ‘मास्टर्नी’सँग सहकार्य गर्दै स्मार्टफोन सार्वजनिक गर्नुका साथै चलचित्रको विशेष प्रदर्शनसमेत आयोजना गरेका थिए। प्रविधि र मनोरञ्जनलाई एउटै कार्यक्रममा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।