बाढीले रसुवा भन्सारका ५ सय भन्दा बढी गाडी बगाएको अनुमान, ४१ प्रहरी अझै सम्पर्कविहीन

दियोपोस्ट संवाददाता

रसुवा । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठूलो भौतिक क्षति भएको छ । बाढीले भन्सार जाँचपासका लागि राखिएका करिब ५ सय वटा नयाँ गाडीहरू बगाएको प्रारम्भिक अनुमान गरिएको छ भने तीनवटा प्रहरी युनिटमा कार्यरत ४१ जना प्रहरी अझै सम्पर्कविहीन भएका छन् ।

रसुवागढी, स्याफ्रुवेशी र इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरीमध्ये नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी कुल ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएको बताइएको छ ।

रसुवागढी प्रहरी चौकीमा असईको कमान्डमा नौ जना प्रहरी कार्यरत थिए । त्यस्तै, प्रहरी चौकी स्याफ्रुवेशीमा पनि असईको नेतृत्वमा नौ जना प्रहरी कर्मचारी कार्यरत थिए । इलाका प्रहरी कार्यालय टिमुरे भने इन्स्पेक्टरको नेतृत्वमा सञ्चालन हुँदै आएको छ ।

सम्पर्कविहीन भएका प्रहरी कर्मचारीहरूले मोबाइल छाडेर सुरक्षित स्थानतर्फ गएको हुनसक्ने आशंका गरिएको छ । बाढीका कारण तीनवटै प्रहरी कार्यालयमा क्षति पुगेको छ । रसुवागढीमा कार्यरत प्रहरीहरू भन्सार क्षेत्रको सुरक्षामा समेत खटिँदै आएका थिए ।

बाढीले रसुवाको टिमुरे बजार तथा नुवाकोटको त्रिशूली बजार क्षेत्रका केही घरहरू बगाएको छ । बाढीबाट प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।