
काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका सेवाग्राहीका लागि दुई दिनसम्म डेटा र भ्वाइस सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनसम्म निःशुल्क भ्वाइस कलसँगै प्रतिदिन २ जीबी डेटा र ५० वटा एसएमएस निःशुल्क उपलब्ध गराउने जनाएको हो ।
बाढी प्रभावित क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै टेलिकमले एसएमएसमार्फत सचेत गराइरहेको जनाएको छ । साथै, सेवाग्राहीलाई आवश्यक सूचना प्रवाह गर्न सचेतनामूलक रिङब्याक टोनसमेत बजाइरहेको टेलिकमले जनाएको छ ।
बाढीका कारण रसुवामा दुई र नुवाकोटमा पाँच गरी सातवटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण टेलिकमले दिएको छ । गल्छीदेखि रसुवा बोर्डरसम्मको फाइबर लिंकमा समेत क्षति पुगेको जनाएको छ ।
क्षतिग्रस्त संरचना मर्मत गरी सञ्चार सेवा नियमित बनाउन नेपाल टेलिकमको प्राविधिक टोली निरन्तर खटिएको टेलिकमले जनाएको छ ।