भोटेकोशी बाढीको मुख्य कारण तिब्बतको हिमपहिरो- चीन

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको आकस्मिक बाढीको मुख्य कारण तिब्बतमा गएको हिमपहिरो रहेको चीनले नेपाललाई प्रारम्भिक जानकारी गराएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनतर्फ तिब्बत क्षेत्रमा हिमपहिरो खसेका कारण भोटेकोशी नदीमा भीषण बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो।

चीनबाट अनौपचारिक रूपमा प्राप्त जानकारीअनुसार तिब्बत क्षेत्रमा रहेका प्राविधिकहरूको प्रारम्भिक अध्ययनले हिमपहिरोलाई बाढीको मुख्य कारण देखाएको छ । यद्यपि घटनाको विस्तृत अनुसन्धान तथा पुष्टि हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पनि प्रारम्भिक अध्ययनले तिब्बतमा गएको हिमपहिरोकै कारण भोटेकोशीमा आकस्मिक बाढी आएको देखाएको छ। तर घटनाको विस्तृत विवरण संकलन तथा कारणको पुष्टि गर्ने काम भइरहेको विभागले जनाएको छ।

घटनाबारे थप प्राविधिक अध्ययनपछि बाढीको वास्तविक कारण र क्षतिको विस्तृत विवरण सार्वजनिक गरिने बताइएको छ।