ल्हेन्दे खोलाको बाढी त्रिशूलीमा मिसिँदा तल्लो तटीय क्षेत्र उच्च जोखिममा, सतर्क रहन आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको आकस्मिक भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ । बाढीको बहाव मुग्लिन आसपास पुगिसकेको र केही बेरमै नारायाणघाट पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढीले धादिङको गजुरी गाउँपालिकास्थित फुर्केखोलामाथिको पुलसमेत बगाएको छ । उक्त पुल पृथ्वी राजमार्गबाट धादिङ सदरमुकाम जोड्ने महत्वपूर्ण सडकखण्डमा पर्छ । पुल बगेपछि सडक सम्पर्क प्रभावित भएको छ भने राजमार्गका विभिन्न स्थानमा पानीको सतह सडकसम्म आइपुगेको र यात्रा जोखिमपूर्ण बनेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताएका छन् ।

बाढीको सबैभन्दा ठूलो असर भने रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा परेको छ । बुधबार बिहान करिब ९ बजेतिर तिब्बततर्फबाट अचानक ठूलो मात्रामा पानी भोटेकोशीमा प्रवेश गरेपछि टिमुरे बजार, रसुवा भन्सार क्षेत्र, सडक तथा आसपासका संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण छ । भन्सार क्षेत्रमा रहेका सवारीसाधन तथा अन्य सामग्रीसमेत बाढीले बगाएको बताइएको छ ।

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको बहाव थप बढ्न सक्ने भन्दै मुग्लिनसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदी किनारमा नजान, जोखिमयुक्त बस्ती तथा बजार क्षेत्रबाट सुरक्षित स्थानमा सर्न र अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ ।

धादिङ जिल्ला प्रशासनले पनि त्रिशूली नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । नदीमा माछा मार्ने, बालुवा-गिट्टी संकलन गर्ने वा अन्य कामका लागि नदी किनारमा जाने व्यक्ति तथा मजदुरलाई तत्काल नदी क्षेत्रमा नजान प्रशासनले अनुरोध गरेको छ ।

 

सिफारिस