
काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीमा हालसम्म ४२८ जना तीर्थ तथा पदयात्री सम्पर्कविहीन भएका छन् । सरकारी निकायका अनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी र ९७ जना नेपाली नागरिक रहेका छन् ।
यसैबीच, गोरखाबाट रसुवाको गोसाइकुण्डतर्फ तीर्थयात्री लिएर गएको बससमेत सम्पर्कविहीन भएको छ । बुधबार बिहान पालुङटार नगरपालिका-४ र ५ का ३८ जना तीर्थयात्री बोकेर गोसाइकुण्डतर्फ गएको ग २ ख ११५२ नम्बरको बस सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
बसमा सवार ३८ जनामध्ये चार जना बसबाट हाम फालेर बाहिरिएपछि सम्पर्कमा आएका छन् । बाँकी ३४ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
सरकारी निकायबाट प्राप्त विवरणअनुसार सम्राट टुर्स एण्ड ट्राभल्समार्फत मानसरोवरतर्फ गएका ७१ जना बाढीमा सम्पर्कविहीन छन् । उनीहरूमध्ये ५६ जना विदेशी र १२ जना नेपाली रहेका छन्।
त्यस्तै, काठमाडौँ होलिडे टुर्स एण्ड ट्राभल्सबाट गएका १७ जना पनि सम्पर्कविहीन छन् । उनीहरूमध्ये १५ जना नेपाली र दुई जना विदेशी नागरिक छन् ।
लिभ होलिडेबाट गएका ५५ जना, कैलाश जर्नीका ३१ जना, एक्सप्लोर रियाक्सनका सात जना, ट्रेकर्स सोसाइटीका ९२ जना, रिच टुर्स एण्ड ट्राभल्सका १२ जना, फिस्टेल टुर्स एण्ड ट्राभल्सका २७ जना, हिमालय ग्ल्यासियरका ६२ जना र अल्पाइन इको ट्रेकबाट गएका २० जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनको तिब्बत क्षेत्रमा हिमपहिरो खसेका कारण भोटेकोशी नदीमा भीषण बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो।
अहिले नदीको सतह केही घटे पनि हिमपहिरो खसेको क्षेत्रमा अझै केही परिमाणमा हिउँ रहेकाले जोखिम कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।