बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीद्वारा उद्धार तथा राहत परिचालन

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न जिल्लाबाट उद्धार टोली र आवश्यक सामग्री परिचालन गरेको छ ।

रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित सशस्त्र प्रहरीका युनिटबाट उद्धार सामग्रीसहित जनशक्ति बाढी प्रभावित क्षेत्रमा खटाइएको हो ।

तयारी अवस्थामा राखिएका आपत्कालीन राहत तथा उद्धार सामग्रीसहितका कन्टेनरसमेत प्रभावित क्षेत्रमा तत्काल पठाउने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । अन्य क्षेत्रमा रहेका उद्धार सामग्री पनि प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ ।

बाढीमा परी घाइते भएकाहरूलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन राहत, चिकित्सा तथा उद्धार टोलीसमेत प्रभावित क्षेत्रमा खटाइएको डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सशस्त्र प्रहरीले गाडी तथा गस्ती टोलीमार्फत साइरन बजाउने र माइकिङ गर्ने काम गरिरहेको छ । बाढीमा परेकाहरूको उपचारका लागि नेपाल एपीएफ अस्पतालमा आवश्यक बेडसमेत तयारी अवस्थामा राखिएको छ ।

आपत्कालीन उद्धारका लागि परिचालन भएका नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरको सुरक्षित उडान र अवतरणका लागि आवश्यक ‘ल्यान्डिङ जोन’ तयार गरिएको छ । रसुवागढी भन्सार तथा यार्ड क्षेत्रमा पुरिएका व्यक्तिको खोजी तथा उद्धारका लागि विशेष उपकरणसहितको सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ ।

त्यस्तै, नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा हराइरहेका नागरिकको अवस्था र स्थान पहिचान गर्न तथा क्षतिको मूल्याङ्कनका लागि सशस्त्र प्रहरीले ड्रोन परिचालन गरेको छ। विस्थापित शिविरमा हैजा तथा अन्य पानीजन्य रोग फैलिन नदिन आपत्कालीन खानेपानी शुद्धीकरण र औषधि वितरणसमेत सुरु गरिएको छ।

भोटेकोसी तथा त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थुनिएको हिमपहिरो अचानक खुल्न सक्ने तथा थप बाढी आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले चिनियाँ समकक्षी सुरक्षा निकायसँग निरन्तर समन्वय, संवाद तथा सूचना आदान–प्रदान गरिरहेको जनाएको छ। सम्भावित जोखिमबारे पूर्वसूचना प्राप्त गरी क्षति न्यूनीकरण गर्ने उद्देश्यले यस्तो समन्वय भइरहेको हो।

सिफारिस