टिमुरेमा बाढीको वितण्डाः प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जे देखे…

दियोपोस्ट संवाददाता

रसुवा । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार बाढी आउनुअघि उनी कार्यालयमै थिए । कार्यालय अचानक हल्लिएपछि भूकम्प आएको ठानेर बाहिर निस्किएका उनलाई माथिल्लो क्षेत्रबाट आएको भयानक आवाजले झस्कायो ।

“भूकम्प आयो होला भनेर बाहिर हेर्दै निस्किएको थिएँ । त्यही बेला माथिबाट सय मिटरभन्दा ठूलो ज्वालामुखी विस्फोट भएजस्तो भयानक आवाज आयो । एक्कासि अँध्यारो हुने गरी धुवाँको मुस्लोजस्तो आयो । त्यसपछि हाम्रो होसहवास नै उड्यो,” ढुङ्गानाले भने ।

अवस्था भयावह बनेपछि ज्यान जोगाउन आफूहरू जंगलतर्फ भागेको उनले बताए । केहीबेरमै आएको बाढीले टिमुरे बजारमा ठूलो क्षति पुर्‍याएको उनको भनाइ छ ।

‘एकैछिनमा बजार स्वाहा बनायो,’ ढुङ्गानाले भने ।

रसुवाको टिमुरे बजारमा आएको भीषण बाढीले भन्सार कार्यालयसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण भन्सार प्रक्रिया पूरा गर्न राखिएका चीनबाट आयात गरिएका तीन सयभन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) समेत बेपत्ता भएका छन् ।

बाढीपछि भन्सार कार्यालयका कर्मचारी, सेवाग्राही र स्थानीयवासी गरी करिब ४० देखि ५० जना माथिल्लो जंगल क्षेत्रमा आश्रय लिएर बसेका छन् । बाढीले सडक, बजार क्षेत्र तथा भन्सारसँग सम्बन्धित संरचनामा समेत ठूलो क्षति पुर्‍याएको बताइएको छ ।

ढुङ्गानाका अनुसार भन्सार छुटाउने प्रक्रियामा रहेका चीनबाट ल्याइएका तीन सयभन्दा बढी ईभी गाडीको अहिले कुनै अत्तोपत्तो छैन । ती सवारीसाधन बाढीले बगाएको वा पुरिएको हुन सक्ने भए पनि क्षतिको यकिन विवरण भने तत्काल प्राप्त हुन नसकेको उनले बताए ।

भन्सार कार्यालय र आसपासको क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण संकलन गर्नसमेत कठिनाइ भइरहेको छ । उद्धार तथा खोजी कार्यसँगै बेपत्ता सवारीसाधन र अन्य भौतिक संरचनामा भएको क्षतिको विवरण संकलन गरिने बताइएको छ ।

सिफारिस