
काठमाडौँ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा परी २२ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रसुवामा एक पुरुषको मृत्यु भएको छ । नुवाकोटमा पाँच महिला र ६ पुरुष गरी ११ जनाको ज्यान गएको छ । त्यसैगरी धादिङमा ५ महिला, २ पुरुष र २ जनाको लिंग नखुलेको गरी ९ जनाको मृत्यु भएको छ । चितवनमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ६५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । रसुवाबाट ४३ जना, नुवाकोटबाट १९ जना र धादिङबाट तीन जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ ।
उद्धार गरिएकामध्ये ६ जनालाई काठमाडौँ ल्याइएको छ भने ३६ जना धुन्चेमा रहेका छन् । अन्य घाइतेको नुवाकोटमा उद्धार गरिएको छ, जसमध्ये एक जना प्रहरीसमेत रहेको जनाइएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको प्रहरीले जनाएको छ ।