बाढी प्रभावित नेपाललाई भारत, चीन र विश्व बैंकले सहयोग गर्ने

दियोपोस्ट संवाददाता

काठमाडौँ । बाढी प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि छिमेकी मुलुक भारत र चीनसँगै विश्व बैंकले आर्थिक तथा मानवीय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बाढीको घटना सार्वजनिक भएलगत्तै विश्व बैंकका नेपाल हेर्ने राष्ट्रिय निर्देशक डेविड सिस्लेन तथा भारत र चीनका प्रतिनिधिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग समन्वय गरेका थिए।

अर्थमन्त्रीसँगको छलफलका क्रममा विश्व बैंकका राष्ट्रिय निर्देशक सिस्लेनले विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप करिब रु. २५ अर्बसम्म सहयोग गर्न सकिने जानकारी गराएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस्तै, भारतले बाढीपीडितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची सरकारसँग माग गरेको छ। आवश्यक सामग्रीको सूची प्राप्त भएपछि सहयोग उपलब्ध गराउने भारतले जनाएको छ।

उत्तरी छिमेकी चीनले पनि तत्काल नगद सहयोग गर्ने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आजै काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले अन्तरसरकारी समन्वयमार्फत सहयोगको मोडालिटीबारे छलफल भइरहेको बताएका छन्।