
रसुवा, १० भाद्र — रसुवा जिल्लाबाट उत्पन्न भई नुवाकोट, धादिङ हुँदै तलसम्म असर पुर्याएको भीषण बाढीका कारण देशले ठूलो जनधनको क्षति ब्यहोरेको छ। प्राप्त ताजा सरकारी अपडेट अनुसार बाढीका कारण विभिन्न जिल्लाबाट हालसम्म ७२ वटा शव फेला परेका छन् भने दुर्घटनामा परेका बसका यात्री तथा जलविद्युत आयोजनाका कामदारहरू बेपत्ता हुँदा खोजी र उद्धार कार्य युद्धस्तरमा अघि बढाइएको छ।
गृह प्रशासन र सुरक्षा निकायबाट प्राप्त विवरणअनुसार बाढीका कारण ज्यान गुमाएका ७२ जनाको शव विभिन्न जिल्लाहरूबाट संकलन गरिएको छ। जसमा रसुवामा १, नुवाकोटमा ११, धादिङमा १८, चितवनमा २८, गोरखामा ९, तनहुँमा ४ र नवलपरासी पूर्वमा १ जनाको शव फेला परेको छ। मृतकमध्ये २३ महिला, ३१ पुरुष, १ जना लिङ्ग नखुलेको र १५ बालबालिका रहेका छन्। कतिपय स्थानमा अंगभंग भएका शवका अंशहरू समेत फेला परेका छन्।
त्यस्तै, बाढीमा परी घाइते भएकाहरूलाई त्रिशुली अस्पतालसहित काठमाडौंका विभिन्न ठूला अस्पतालहरू (त्रिवि शिक्षण अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल, छाउनी, ग्रिन सिटी र नर्भिक अस्पताल) मा भर्ना करून उपचार जारी राखिएको छ।
गोरखाको पालुङटारबाट रसुवाको गोसाइँकुण्डतर्फ जाँदै गरेको पृथ्वी यातायातको ग २ ख ११५२ नम्बरको बस रसुवाको फूलबारीमा आएको बाढीले बगाएको छ। उक्त बसमा चालक र सहचालकसहित करिब ३८ जना यात्रु सवार रहेकोमा ५ जनाले बसबाट हाम फालेर ज्यान बचाउन सफल भए पनि ३३ जना यात्रु बससहित बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखामा टिपोट प्राप्त भएको छ।
यसैगरी, जुम्लाको पातारासी गाउँपालिकाका विभिन्न वडाबाट रसुवाको हाकुजेरी छाप्रेबेसीस्थित २१६ नम्बर ड्यामसाइड हाइड्रोपावरमा काम गर्न गएका ७५ देखि ८० जना कामदारहरू अहिले सम्पर्कविहीन रहेको उनीहरूका आफन्तले जिल्ला प्रशासन कार्यालय जुम्लामा जानकारी गराएका छन्। हालसम्म १८ जनाको मात्रै नामावली खुलेको र अन्यको विवरण आउन बाँकी रहेको छ। रसुवास्थित विभिन्न प्रहरी इकाइहरूमा कार्यरत ६४ प्रहरी जनशक्तिको पनि ठूलो हिस्सा (२८ जना) सम्पर्कविहीन रहेको अवस्था छ।
बाढीले रसुवा, नुवाकोट र धादिङको जनजीवन अस्तव्यस्त बनाउनुका साथै महत्त्वपूर्ण सडक तथा पुलहरूमा ठूलो क्षति पुर्याएको छ।
धादिङ र नुवाकोट जोड्ने गल्छि गाउँपालिका-८ कोल्फुखोलाको नयाँ पुलमा सामान्य क्षति पुगेको छ भने पुरानो पुल पूर्ण रूपमा कोल्टो परेको छ।
गजुरी गाउँपालिका-६ जहरेखेत, गाउँपालिका-५ घाटबेशी र गाउँपालिका-२ फुर्केखोलास्थित सिद्धलेक तथा धादिङबेसी जोड्ने पक्की पुलहरू बाढीले बगाएको छ।
परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै सरकारले उद्धार र खोजी कार्यलाई तीब्रता दिएको छ। रसुवा, नुवाकोट, धादिङ र चितवनमा सुरक्षा प्रमुखहरूको नेतृत्वमा ६५६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
रसुवा जिल्ला कमाण्ड: प्र.ना.उ. अशोक थापा (१३९ जना)
नुवाकोट जिल्ला कमाण्ड: प्र.उ. विपिन रेग्मी (३२० जना)
धादिङ जिल्ला कमाण्ड: प्र.उ. सुमित खड्का (१२३ जना)
चितवन जिल्ला कमाण्ड: प्र.उ. रामेश्वर पौडेल (२१३ जना)
यसका अतिरिक्त, थप जनशक्ति अन्तर्गत १२ जनाको मेडिकल टोली रसुवा प्रस्थान गरेको छ भने ६ जना अपरेटरसहित ४ वटा अत्याधुनिक ड्रोनमार्फत खोजी कार्य भइरहेको छ। नुवाकोटलाई बेस क्याम्प बनाई ३४ जना प्रहरी, रबर बोट, टेन्ट, त्रिपाल र अन्य उद्धार सामग्रीसहितको टोली खटिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जनाको स्ट्यान्डबाइ टोली तयारी अवस्थामा राखिएको छ।
स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ताहरूको खोजी, राहत वितरण र अवरुद्ध सडक सञ्चालनका लागि निरन्तर प्रयास जारी राखेका छन्।