रसुवा बाढी : आठ जिल्लामा १६२ शव फेला, खोज तथा उद्धार जारी

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या १६२ पुगेको छ । बाढी तथा पहिरोमा परेकामध्ये बिहीबार बिहान ५ बजेसम्म आठ जिल्लाबाट १६२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीको पछिल्लो अपडेट अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा नौ, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा दुई जनाको शव फेला परेको हो ।

बुधबार बिहान तिब्बततर्फबाट आएको बाढी रसुवाको भोटेकोशी नदीमा मिसिएपछि त्यसले ठूलो जनधनको क्षति गरेको थियो । बाढीको प्रभाव भोटेकोशी हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत फैलिएको थियो । त्यसक्रममा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा बाढी र नदीको बहावका कारण मानवीय तथा भौतिक क्षति भएको छ ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन् । नेपाली सेनाले उद्धारका लागि हेलिकप्टर परिचालन गर्नुका साथै ड्रोनसमेत प्रयोग गरेको छ । बुधबार मात्रै सेनाले बाढीबाट प्रभावित २९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेको जनाएको थियो ।

बाढीका कारण सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ । गोरखामा त्रिशूली नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुल बगाउनुका साथै अर्को एक पुलमा क्षति पुर्‍याएको स्थानीय प्रहरीले जनाएको छ ।

यसैबीच, बाढीमा परेर अझै कतिपय व्यक्ति बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । नदीको बहाव तीव्र रहेकाले तल्लो तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । खोजी तथा उद्धार कार्य अघि बढ्दै जाँदा मृतकको संख्या थप बढ्न सक्ने प्रहरीको अनुमान छ ।