
चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले बगाएका ६४ जनाको शव त्रिशूली र नारायणी नदीमा फेला परेको छ । फेला परेका शवमध्ये केही सग्ला छन् भने केही शरीरका विभिन्न अङ्ग मात्रै रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नदीमा फेला परेका शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
उनका अनुसार तनहुँमा फेला परेका नौ शवसमेत चितवन ल्याइएको थियो । तर, भरतपुर अस्पतालको शवगृहमा राख्ने ठाउँ अभाव भएपछि ती शव पुनः तनहुँ नै पठाइएको छ ।
बाढीमा बेपत्ता भएकाको खोजीका लागि चितवनका तीनवटै सुरक्षा निकाय परिचालन भएका छन् । सुरक्षाकर्मीले त्रिशूली र नारायणी नदीका विभिन्न किनारमा शव तथा बेपत्ताको खोजी गरिरहेका छन् ।