
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीको जोखिम कायमै रहेका बेला बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको बुलेटिनअनुसार त्रिशूली नदीको बेनीघाट क्षेत्रमा बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
भोटेकोशी क्षेत्रमा बुधबार आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। उक्त घटनापछि नदी प्रणालीमा बहाव र सम्भावित जोखिमप्रति विशेष सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।
यस्तै, महाशाखाले देशका विभिन्न २४ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी अर्थात् फ्ल्यास फ्लडको मध्यम जोखिम रहेको जनाएको छ।
रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ।
कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदी र कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तहभन्दा तल रहने जनाइएको छ।
महाशाखाले जोखिमयुक्त नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
