
काठमाडौँ । तिब्बतबाट रसुवा हुँदै अचानक आएको बाढीका कारण नेपालतर्फ ठूलो जनधनको क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ ।
बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार कार्य, राहत वितरण तथा प्रभावित क्षेत्रको पुनःस्थापनालगायतका विषयमा छलफल भइरहेको छ ।
बैठकमा रास्वपा सभापति लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता महन्थ ठाकुरलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन् ।
बाढीबाट भएको क्षतिको तत्कालीन व्यवस्थापनसँगै प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र साझा पहल गर्ने विषयमा बैठक केन्द्रित रहेको बताइएको छ ।