
काठमाडौँ । सशस्त्र प्रहरी बलले हाइड्रोपावरमा फसेकाहरू र नदी तटका संरचनामा फसेकाहरूको उद्धारको लागी सीएसएसआर टिम परिचालन गरिएको छ ।
रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हाइड्रोपावर तथा नदी तटीय संरचनामा फसेकाहरूको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलले विशेष तालिमप्राप्त सीएसएसआर टोली परिचालन गरेको हो ।
भत्किएका तथा क्षतिग्रस्त संरचनामा खोज तथा उद्धारको विशेष तालिम लिएका सुरक्षाकर्मीले संरचनाभित्र थुनिएका व्यक्तिलाई पर्खाल र फलाम काटेर उद्धार गर्नेछन् । सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा चार वटा विशेष खोज तथा उद्धार टोली खटाएको जनाएको छ।
बुधबार राति नै काठमाडौँबाट हिँडेको एउटा टोलीले नुवाकोटका नदी तटीय क्षेत्रका बस्तीमा खोजी कार्य सुरु गरिसकेको छ। यस्तै, अर्को टोलीलाई हेलिकप्टरमार्फत रसुवा पठाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्यान्डबाई राखिएको छ।
सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा थप खोज तथा उद्धारका लागि करिब एक हजार पाँच सय जनशक्ति, गोताखोर, तालिमप्राप्त कुकुर तथा ड्रोनसमेत परिचालन गरेको जनाएको छ। नदी तथा भत्किएका संरचनामा फसेकाहरूको खोजी तीव्र पारिएको छ।
खोज तथा उद्धार कार्यमा समन्वय गर्न सशस्त्र प्रहरी बल नम्बर-३ बाहिनीका टोली नुवाकोट पुगेका छन् । नुवाकोटस्थित नम्बर-१९ गुल्मलाई विपद् प्रतिकार्य बेस बनाएर खोज तथा उद्धार कार्यको समन्वय भइरहेको छ।
शव व्यवस्थापनका लागि समेत छुट्टै टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीले धुन्चे, रसुवागढी, नुवाकोट र चितवनमा विपद् प्रतिकार्य बेस स्थापना गरी काम गरिरहेको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार हालसम्म विभिन्न १२ स्थानबाट ९८ वटा शव संकलन गरिएको छ। यस्तै, ३० जना घाइतेसहित ७३ जनाको सकुशल उद्धार गरिएको जनाएको छ।
प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।