प्रधानमन्त्री शाह सडकमार्ग हुँदै बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार बिहान बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह सडकमार्ग हुँदै बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न विदुरतर्फ गएका हुन् ।

उनीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि निरीक्षणमा सहभागी छन् । प्रधानमन्त्री शाह र मन्त्री लम्साल बिहान साढे ९ बजे विदुरतर्फ प्रस्थान गरेका हुन् । उनीहरूले बाढीबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था तथा तत्काल आवश्यक उद्धार र राहतका विषयमा स्थलगत जानकारी लिने बताइएको छ ।

बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ ।